काठमाडौं – नेपाली सिनेमा ‘बम बहादुर’ आज शुक्रबारबाट नेपालभर र भारतका केही राज्यमा रिलिज भएको छ । सिनेमाले विशेष गरी भारतका दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ ।
आजभन्दा करिब ३८ वर्षअघि १९८० को दशकमा भएका घटनामा आधारित सिनेमाले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपालीले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ । निर्देशक जोन राईका अनुसार सिनेमाले भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो सिनेमा निर्माण गरेको बताए । सिनेमामा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ ।
सिनेमाको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको सिनेमाको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन् । लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।


प्रतिक्रिया