‘झिल्को’को प्रदर्शन मिति हेरफेर, अब बैशाख १९ मा हुनेछ रिलिज

‘झिल्को’को प्रदर्शन मिति हेरफेर, अब बैशाख १९ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यादव कुमार भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिल्को’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि पुष ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा बैशाख १९ गतेबाट गतेबाट प्रदर्शनमा आउने जानकारी निर्देशक भट्टराईले दिए ।

सिनेमाको केही दृश्य छायांकन बाँकी रहेकोमा ती दृश्यको छायांकन गत आइतबार सम्पन्न भएकाले पोस्ट प्रोडक्सनमा केही समय लाग्ने भएकाले प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक भट्टराई बताउँछन् । ‘झोला’ र ‘भोर’पछि यो उनको तेस्रो निर्देशकीय फिचर सिनेमाले हो ।

सिनेमामा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल मुख्य कलाकारका रूपमा रहेका छन् । मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार अनि समाजलाई पार्ने प्रभावको कथामा सिनेमा निर्माण गरिएको छ ।

‘पछिल्लो समय मोबाइलले बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको डिजिटल दुव्र्यसनी हो । यही संवेदनशील विषय ‘झिल्को’को कथा हो,’ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक सिनेमा हो ।’

सिनेमाको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो । केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए । सती प्रथाको कथामा ‘झोला‘ सिनेमा निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी सिनेमा ‘भोर’ निर्माण गरेका थिए । ‘झिल्को’को कथा, पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले लेखेका हुन् ।

मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाको निर्माता सुशीला आचार्य र रामगोपाल थापा तथा कार्यकारी निर्माता उमेश पौडेल हुन् । दीपक बज्राचार्यको छायांकन अनि चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत रहेको सिनेमालाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।