द सिनेमा टाइम्स, काठमाडौं । असोजको ३ गतेबाट पोष्टपोन्ड भएको सिनेमा ‘आउटलः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो सिनेमा फागु पुर्णिमा अर्थात् होलीको अवसर पारेर फागुन २९ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो ।
शुक्रबार सार्वजनिक गरिएको सिनेमाको नयाँ पोष्टरमा अभिनेता सुशिल श्रेष्ठको लुक्स गज्जब देखिएको छ । हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ । यसले पनि सिनेमा कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ । यो सिनेमाले अभिनेता सुशिललाई सिनेमा क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ ।
विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको सिनेमामा सुशिलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ । विनोद कठायत कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह-निर्माताको रुपमा छन् ।
सिनेमामा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन रहेको छ । यो सिनेमाका लागि निर्माण टिमले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ । जसकाकारण, सिनेमाको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाई भएको निर्माणपक्षले बताएको छ ।



प्रतिक्रिया