‘होस्टेल ३’को छायांकन ४९ दिनमा सकियो, चाँडै नयाँ प्रदर्शन मिति घोषणा हुने

‘होस्टेल ३’को छायांकन ४९ दिनमा सकियो, चाँडै नयाँ प्रदर्शन मिति घोषणा हुने

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शुक्रवार सिनेमा ‘होस्टेल ३’को अधिकांश छायांकन ४९ दिनमा सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको छायांकन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् ।

अहिले सिनेमा पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि सिनेमाको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले दिएको छ । शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमामा कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह-निर्माताको रुपमा रहेका छन् ।

‘होस्टेल ३’ सुपरहिट सिनेमा ‘होस्टेल’ शृङ्खलाको तेस्रो सिनेमा हो । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ । यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूका लागि नेपाली सिनेमा उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण सिनेमा बन्ने विश्वास लिइएको छ । सिनेमामा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो । ‘होस्टेल ३’को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो । सिनेमामा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफी, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।