द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाईं सिनेमा ‘पिताम्बर’को घोषणा हुनुभन्दा अगाडिदेखि यो पटक मैले जसरी पनि आफूलाई प्रमाणित गरेर देखाउनै पर्छ । यो पटक मलाई सफल सिनेमा दिनुको विकल्प छैन ।
‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी उनले ‘पिताम्बर’ घोषणा गरिन् । यो सिनेमामा उनले स्टार कलाकारको लाइनअप बनाइन् । नेपाली सिनेमा उद्योगका रोजाइका कलाकारलाई लिइन् ।
पटकपटक गरेर ७० दिन लगाएर छायांकन गरिन् । एक्सन प्रधान यो सिनेमामा उनले सकेको मेहनत छायांकनमा गरिन् । अब उनले पोस्ट प्रोडक्सनमा मेहनत गर्नुपर्नेछ ।
गत बिहीबार सार्वजनिक गरेको पोस्टरले सिनेमाको अपेक्षा बढाएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार छन् । प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई छन् ।
पोस्टरले सिनेमाको मुख्य पात्र अथवा ‘पिताम्बर’ प्रदीप भएको प्रस्ट पारेको छ । पोस्टरमा उनलाई प्राथमिकता दिइएको छ । त्यसैले उनी नै पिताम्बर भएको अनुमान लगाउन सकिन्छ ।
लामो कपालमा देखिएका उनको अनुहार रतले पोतिएको छ । दाँत टिकेका उनलाई आक्रामक मुद्रामा देखिन्छ ।
प्रदीपसँगै सौगात पनि छन् । खैरो टिसर्टमा रहेका उनको हातमा बन्दुक छ । बन्दुक कसैलाई ताकेका उनी रिसले चुर भएको मुद्रामा छन् । ताउ लगाएका जुंगा र बडी हेर्दा उनी शारीरिक रुपमा निकै फिट देखिएका छन् ।
पोस्टरमा दयाहाङ राई पनि छन् । रिसाएको मुद्रामा देखिएका उनी नेपाल प्रहरीको ड्रेसमा छन् । यी तीन पात्रको अगाडी युद्धले रणभूमी भएको मैदान देखिन्छ । जहाँ सयौँ शव देखिन्छ । शवहरूको बीचमा एक व्यक्ति आधुनिक हतियार बोकेर उभिएका छन् ।
तीन पात्रको अनुहारको भाव र रगत तथा रणमैदानमा देखिएका शवले ‘पिताम्बर’ फूल एक्सन मुभी भएको प्रष्टै देखिन्छ । पोस्टरमा सबैभन्दा राम्रो पक्ष रङ सम्योजन छ । रङले सिनेमा कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ ।
पोस्टरले सिनेमाको हाइप क्रिएट गर्न सहयोग गरेको छ । पोस्टरले यसको टिजरको पखाई बढाएको छ । यसका आउँदा प्रचार सामग्री राम्रो आए ‘पिताम्बर’ वर्षकै प्रतिक्षित सिनेमा बन्ने निश्चित छ ।
पोस्टर हेर्दा कृषाले भने जस्तो सिनेमा सफल होला भन्ने अपेक्षा गर्न सकिन्छ । कलाकारको लाइनअप, छायांकनमा दिएको समय र मिहिनेत तथा कृषाको लगाव र प्रणले सिनेमालाई बलियो बनाउने विश्वास बढेको छ ।
सिनेमामा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् ।
प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको सिनेमालाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।
यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । यो सिनेमाले दर्शक तथा समीक्षकबाट प्रसंशा पाएको थियो ।



प्रतिक्रिया