छायांकन अगावै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक, भावुक मुद्रामा प्रकाश र परीक्षा

छायांकन अगावै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक, भावुक मुद्रामा प्रकाश र परीक्षा

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला निर्देशक अर्जुन सुवेदी आफ्नो दोस्रो सिनेमा ‘सोल्टिनी’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । यही पुष अन्तिमबाट यो सिनेमाको छायांकन गर्ने तयारी भैरहेको छ । सिनेमामा कलाकारहरुको बलियो लाइनअप बनाएका उनले सोल्टिनीमा फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्दैछन् । यो कथा उनले अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूमार्फत् पर्दामा देखाउनेछन् ।

छायांकनका लागि तयारी भइरहँदा आइतबार सिनेमाको भाव बुझाउने एक पोस्टर सार्वजनिक गरिएको छ । जसमा प्रकाश र परीक्षा प्रस्तुत छन् । उनीहरुलाई सार्वजनिक पोस्टरमा भावुक मुद्रामा देख्न सकिन्छ । यसले उनीहरुबीचको प्रेम र वियोग भाव दर्शाउँछ । सिनेमामा प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । यतिबेला सिनेमाको वर्कसप चलिरहेको छ ।

भोजपुर एक गाउँको परिवेशमा छायांकन हुने ‘सोल्टिनी’ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताविरुद्धको आवाज उठाउँदै दुई प्रमुख पात्रको प्रेम प्रस्तुत गर्ने निर्देशक सुवेदीले बताए । सिनेमामा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको पनि अभिनय रहनेछ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने सिनेमाका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् । सुशन प्रजापतिको छायांकन रहने सिनेमाको गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिनेछन् । रेजिना बिस्ट र संसार चौलागाई निर्माता रहेको सिनेमालाई २०८२ साल असोज ३ गते अर्थात् संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।