‘कार्साङ’मा शेर्पा समुदायको संस्कार जोगाउन इमान्दार देखिएका दयाहाङ

‘कार्साङ’मा शेर्पा समुदायको संस्कार जोगाउन इमान्दार देखिएका दयाहाङ

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘कार्साङ’ प्रदर्शनको तयारीमा छ । करिब ६ महिना पश्चात उनको सिनेमा हलमा रिलिज हुन लागेको हो । यसअघि गत असार २८ गते प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’मा उनी देखिएका थिए । यणे सिनेमा बक्सअफिसमा हिट भएको थियो ।

करिब ६ महिना पश्चात दयाहाङको सिनेमा हलमा लागेकाले पनि ‘कार्साङ’ दर्शकको प्रतिक्षामा रहेको बुझाई निर्माण टिमको छ । त्यसअघि उनलाई धेरै सिनेमा खेलेको आरोप लाग्दै आएको छ । हरेक महिनाजसो उनका सिनेमा प्रदर्शनमा आउँछन् । दर्शकलाई उनका कुन सिनेमा हेरौँ कुन नहेरौँ हुन्छ । हरेक महिना मात्रै होइन कहिले कहिँ त एकै दिन दयाहाङ अभिनीत दुईवटा सिनेमा पनि रिलिज हुने गरेका छन् ।

‘कार्साङ’मा दयाहाङ आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा देखिने छन् । यो सिनेमामा अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन् । अभाव र इमान्दार समाजका भुइँ मान्छेहरू कसरी आफ्ना-आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने यो सिनेमाले देखाउने केही समयअघि सार्वजनिक टिजरबाट बुझिन्छ ।

दयाहाङमार्फत् भनिने यो सिनेमाको कथामा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन् । प्रायः दयाहाङ हाइफाइ र चटपटेभन्दा मौलिक कथामार्फत सिनेमामा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् ।

‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् । सिनेमामा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु सिनेमा हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् । सिनेमाको सह–निर्माता गोविन्द बोहरा अनि कार्यकारी निर्माता आङछिरिङ शेर्पा छन् ।