पहिलो गोल्डेन नेपाली सिनेमा अवार्डमा अनमोल र आँचल सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

पहिलो गोल्डेन नेपाली सिनेमा अवार्डमा अनमोल र आँचल सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आइतबार पहिलो गोल्डेन नेपाली सिनेमा अवार्ड अमेरिकाको सन फ्रान्सिस्कोमा वितरण गरिएको छ । नेपाली सिनेमाको विभिन्न विद्यामा कार्यरत कलाकार र प्राविधिकलाई यो अवार्ड समारोहमा पुरस्कृत गरियो ।

यो अवार्ड समारोहमा अभिनेता शिव श्रेष्ठलाई नेपाली सिनेमाको अभिनयमा योगदान पुर्‍याएबापत दीर्घ साधना सम्मान प्रदान गरियो । दिनेश रावत निर्देशित ‘पूजार सार्की’ सर्वोत्कृष्ट सिनेमा घोषित भयो । दीपेन्द्र लामा निर्देशित ‘गाउँ आएको बाटो’ले क्रिटिक्स अवार्ड र केकी अधिकारी निर्मित ‘बोक्सीको घर’ले जुरी अवार्ड पायो ।

यस वर्षको जेठ १० गतेबाट प्रदर्शनमा आएको हिट सिनेमा ‘पूजार सार्की’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित हुँदा अनमोल केसीले ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेता र आँचल शर्माले ‘डिग्री माइला’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले ।

उक्त समारोहमा अभिनेता प्रदीप खड्काले पपुलर अभिनेता र केकी अधिकारीले पपुलर अभिनेत्रीको अवार्ड हात पारेका थिए । निर्देशक दीपेन्द्र लामाले ‘नांगो गाउँ’बाट सर्वोत्कृष्ट लेखक, ‘नांगो गाउँ’बाटै आलोक शुक्ला सर्वोत्कृष्ट छायांकार, ‘उपहार’बाट मित्र डी गुरुङले सर्वोत्कृष्ट सम्पादकको अवार्ड उचालेका थिए ।

‘अगस्त्य’बाट प्रमोद अग्रहरि सर्वोत्कृष्ट सहअभिनेता, ‘परदेशी २’बाट वर्षा सिवाकोटी सर्वोत्कृष्ट सहअभिनेत्री, ‘बोक्सीको घर’बाट प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार, ‘नांगो गाउँ’बाट एसडी योगी सर्वोत्कृष्ट गायक, समीक्षा अधिकारी ‘बोक्सीको घर’बाट सर्वोत्कृष्ट गायिका घोषित भएकी थिइन् ।

गत वर्ष ०८० साउन १ देखि २०८१ साल असार मसान्तभित्र रिलिज भएका र आयोजकलाई उपलब्ध गराइएका सिनेमाको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको बताइएको छ । यो अवार्ड समारोहमा सहभागी हुन नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, सुनिल थापा, अनमोल केसी, केकी अधिकारी, आँचल शर्मा, केदार घिमीरे, जितु नेपाल, नीति शाह, वर्षा सिवाकोटी लगायतका कलाकार अमेरिका पुगेका थिए ।

हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा अवार्ड सम्पन्न भएको हो । यो अवार्डको जुरीमा अभिनेताद्धय शिव श्रेष्ठ, सुनिल थापा, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, छायांकर गौरीशंकर धूजु श्रेष्ठ, कलाकार सुनिल कटुवाल र रंगपत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी थिए ।