द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा र चुट्का’मा आधारित छ । जुन लोक संगीतको एक विशेष र चर्चित विधा हो । यो भाकामा जीवनका विभिन्न भावनाहरू प्रेम, वियोग, हास्यव्यङ्ग्य र सामाजिक परिवेशलाई सरल तरिकाले व्यक्त गरिन्छ ।
सार्वजनिक गीतको भिडियोमा विपिन र मिरुनाबीचको अव्यक्त प्रेमलाई प्रस्तुत गरिएको छ । गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका सिनेमामा भने पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ । सिनेमाको छायांकन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको हो । सार्वजनिक गीतमा सुजन चापागाई र सुनिता थेगिमको स्वर रहेको छ ।
हर्क साउदको शब्द रचना र गायक चापागाईकै संगीत रहेको गीतका संगीत निर्माता कोविद बज्र हुन् । दीप गुरुङले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राई रोचक भूमिकामा प्रस्तुत छन् । यो सिनेमा अर्को वर्षको बैशाख २६ गतेबाट नेपाल र विदेशमा एक साथ प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।
सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ । सिनेमालाई म्युजिक भिडियोका सफल निर्देशक नवीन चौहानले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा समेत हो । सिनेमाको कथा पनि निर्देशक चौहानले नै लेखेका हुन् । उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन् ।
आर्टमाण्डूको ब्यानरमा निर्माण भएको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ हो । सिनेमाको छायांकन चिन्तन राजभण्डारी र सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । सिनेमाको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स र सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री हुन् ।
सिनेमाको मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् । सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।


प्रतिक्रिया