६ देशको युट्युब ट्रेन्डिङमा ‘मखमली’: माल्टामा पहिलो, नेपालमा तेस्रो

६ देशको युट्युब ट्रेन्डिङमा ‘मखमली’: माल्टामा पहिलो, नेपालमा तेस्रो

गीतले नेपाली लोक सङ्गीतको चर्चित 'कौडा/चुट्का' भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख २६ गते रिलिज हुने नेपाली सिनेमा ‘ऊनको स्वीटर’को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा सफलता कायम गर्दै अगाडि बढिरहेको छ । बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको थियो ।

यति बेला नेपालमा तेस्रो स्थानको ट्रेन्डिङमा रहेको छ भने माल्टामा पहिलो स्थान, कतारमा दोस्रो, युएईमा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौं स्थानमा रहेको छ । गीतको रफ्तार हेर्दा सिनेमाले पनि यसै गरी दर्शकको मन जित्ने थप विश्वास बढेको ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले बताए ।

यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल-भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो सिनेमाका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।

‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर सिनेमा हो । सिनेमालाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।