द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने सिनेमा ‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । आगामी माघ १६ गतेबाट सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको छ ।
सार्वजनिक एक पोस्टरमा मुख्ख कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेताद्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । विजय बस्यालले डिजाइन गरेका यी पोस्टरले सिनेमाको कथा र चरित्रहरूलाई प्रभावकारी रूपमा चित्रण गर्न प्रयास गरेका छन् ।
यो सिनेमाबाट अभिनेता कोइराला १० वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् । दिव्या रायमाझीले यही सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्, जहाँ उनलाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । दिव्या नेपाली सिनेमाका चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । उनी अमेरिकाबाट नेपाल फर्केर यो सिनेमाबाट अभिनयमा सक्रिय भएकी छन् ।
अदृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको सिनेमालाई राजन भुसालले निर्देशन गरेका छन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको पटकथा तथा संवाद आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् । सिनेमामा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमामा निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनीश भुसाल रहेका छन् ।
सिनेमामा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत र शिशिर खाती र किरण थापाको कोरियोग्राफी, पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान, द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशनमा कृष्णमान तामाङ रहेका छन् ।


प्रतिक्रिया