सलोनको अभिनय र निर्माण रहेको ‘रंगी’को मर्मस्पर्शी टिजर सार्वजनिक

सलोनको अभिनय र निर्माण रहेको ‘रंगी’को मर्मस्पर्शी टिजर सार्वजनिक

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेतको अभिनय र निर्माण रहेको सिनेमा ‘रंगी’को टिजर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक १ मिनेट ३९ सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । एक बाबुले छोरीका लागि गरेको संघर्षको कथा पेश गरेको टिजर मर्मस्पर्शी छ ।

अभिनेता सलोन र बाल कलाकार आयुषी ढकालमा सिनेमाको कथा केन्द्रित रहेको टिजरले देखाउँछ । खुशी, रोदन र पीडा मिश्रित टिजरमा छोरीले झ्यालबाट हेर्दै बाबुलाई पर्खिएको, फुड डेलिभरीको पेशा अपनाएका सलोनले घाम र पानीको प्रवाह नगरी काम गरेको, छोरीलाई गरेको वाचा पूरा गर्न नसक्दा भावविह्वल भएको दृश्यले दर्शकलाई भावुक बनाउन सक्छ । टिजरको अन्तिममा एउटा कारले ठक्कर दिएपछि घाइते छोरीलाई लिएर सलोन चिच्चाएको दृश्य कारुणिक छ ।

सुरेश न्यौपानेको डेब्यु निर्देशनमा तयार भएको सिनेमामा सलोन र आयुषीसहित नम्रता श्रेष्ठ (पूर्व मिस नेपाल), दीलिप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय छ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम हुन् ।

सिनेमामा सुमन गजमेरको स्क्रिप्ट लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रचना, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।