‘कार्साङ’मा सबै समुदायको मन जित्ने कथा रहेको कलाकार र निर्देशकको विश्वास

‘कार्साङ’मा सबै समुदायको मन जित्ने कथा रहेको कलाकार र निर्देशकको विश्वास

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष २६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने सिनेमा बनेको बताएका छन् । यो एउटा समुदाय र ठाउँ विशेषको कथा भएपनि सबैको मन जित्ने कथा रहेको कलाकार र निर्देशकको भनाई थियो ।

आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङले झाँक्री हुँदाको अनुभव सेयर गरेका छन् । ‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा थिएँ । तर, उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो,’ काठमाडौंमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, ‘डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ । मलाई के गर्नु–गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरुसँग ज्ञान रहेछ ।’

लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाई छ । त्यसैले ‘कार्साङ’मा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाए ।’

निर्देशक यम शेर्पाले भने, ‘सिनेमाको कथा आफैँमा राम्रो छ । सिनेमाले दर्शकको मन छुन्छ । भावुक बनाउँछ र हसाउँछ पनि, राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले सिनेमालाई थप सशक्त बनाएको छ ।’ सिनेमालाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई अडियन्सले मन पराउने उनको दाबी छ ।

कलाकार जितु नेपालले सिनेमाको विषय, प्रस्तुती र अभिनय सबै हिसाबले राम्रो बनेको बताए । आफू विदेशमा हुँदा धेरैले यो सिनेमाको विषय र भूमिकालाई लिएर सोधेको स्मरण गरे । आफ्नो सिंगल पोस्टर निस्किएपछि धेरै दर्शकमा सिनेमाप्रति चासो बढेको छ । तपाईको रोल कस्तो हो भनेर सोध्ने गरेको जितुको भनाई छ ।

‘म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन । सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो,’ जितु अगाडि भन्छन्, ‘म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु । सहायक चरित्र हुँदा पनि गर्छु ।’ कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले अर्थ राख्ने जितुको दाबी छ ।

सिनेमाकी डेव्यु अभिनेत्री सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो सिनेमा भएको बताइन् । ‘मेरो काम कस्तो छ भनेर हेर्न पनि यो सिनेमा हेर्नुपर्छ,’ उनले भनिन्, ‘मलाई प्रतिक्रिया दिन पनि यो सिनेमा हेरिदिनुहुन्छ भन्ने लागेको छ । समग्रमा सिनेमा राम्रो बनेको छ । मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु ।’

यो सिनेमा निर्देशक यम शेर्पाको डेब्यु निर्देशकिय सिनेमा हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ । सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ ।

सिनेमा ‘कार्साङ’मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।