‘मायावी’को पहिलो रोमान्टिक गीत ‘त्यो माया हो’ सार्वजनिक

‘मायावी’को पहिलो रोमान्टिक गीत ‘त्यो माया हो’ सार्वजनिक

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा सिनेमाका मुख्य कलाकार पल शाह र दीपिका प्रसाई फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

आगामी फागुन १४ गते महाशिवरात्रीको अवसरमा रिलिज हुने सिनेमाको यो गीतमा एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्द रचना र संगीतकार योगी र सदिक्षा कट्टेलको स्वर छ । सफ्ट शैलीको यो रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा प्रेम पोखेका छन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

क्रियटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमाको कथा भट्टराई स्वयंमले लेखेका हुन् । सिनेमामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सह–निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ । यो सिनेमाबाट समिमले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । यो सिनेमामा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, साहिल खानको ट्रेलर छ ।

‘मायावी’ले प्रेम र मित्रताको आभाष दर्शकलाई गराउने निर्देशक भट्टराइको विश्वास छ । कमेडी, एक्सन र पारिवारिक सिनेमा चलिरहेको समयमा नेपाली सिनेमाले कहीँ कतै लभस्टोरी सिनेमाको अभाव महशुश गरिरहेको छ । त्यसलाई ‘मायाबी’ले पुरा गर्ने अपेक्षा गर्न सकिन्छ । राजु विक्रम थापाको डीओपी रहेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरिरहेका छन् ।