द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको डेव्यु निर्देशकिय सिनेमा ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । शेर्पा समुदायको कथामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राईलाई झाँक्रीको रुपमा प्रस्तुत गरिएको छ ।
झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ । रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले सिनेमाको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ ।
बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको सिनेमाको ३ मिनेट ८ सकेण्ड लामो ट्रेलरले दर्शकमाझ कौतुहल्ता जगाउन सफल देखिन्छ । सिनेमाको सार्वजनिक ट्रेलरमा सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । सिनेमाको ट्रेलरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका छायांकार पुरुषोत्तम प्रधान निर्माता पनि हुन् । सिनेमाको कथा पनि निर्देशक शेर्पा आफैंले लेखेका हुन् । सिनेमाको सह-निर्माता गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा अनि लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।
सिनेमामा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, शाहिल खानको टिजर र ट्रेलर, राजु तामाङको मेकअप, अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहायक निर्देशन रहेको छ । ‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।


प्रतिक्रिया