आश्चर्य र रमाइलो देखाउने ‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक

आश्चर्य र रमाइलो देखाउने ‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’ निर्माण टिमको सिनेमा ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले आज बुधबार सिनेमाका तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका पोस्टरमा मुख्य मुख्य कलाकार अटाएका छन् । पोस्टरमा समावेश कलाकार मध्ये चार जना चिनिए पनि एक जना चिनिँदैन । पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा हेरिरहेका छन् ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उनले तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ । यसले विजय पनि सिनेमामा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको छ । तर, प्रष्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन । पोस्टरले सिनेमाप्रतिको कौतुहलता बढाइदिएको छ ।

यो सिनेमा महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । सिनेमालाई कुमार कट्टेल (जिग्री ब्रो)ले निर्देशन गरेका हुन् । सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ । नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।