द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सरोज न्यौपाने यतिवेला ‘जेरी अन टप’को निर्माण गरिरहेका छन् । यो सिनेमाको बाँकी छायांकन केही दिनमा सुरु हुने तयारीमा छ । यसैबीच उनले केही हप्ता अगाडी ‘फनफनी घुमेर’को निर्माण घोषणासँगै आगामी वर्षको दशैंमा रिलिज गर्ने समेत जानकारी दिएका थिए ।
यसैबीच, बुधबार निर्माता न्यौपानेले कलाकार दीपक राज गिरी र निर्मल शर्मासँगको तस्वीर समाजिक सञ्जाल फेसबुकमा सेयर नयाँ सिनेमाका लागि सहकार्य हुन लागेको जानकारी दिएका छन् । दीपकसँग हात मिलाएको एक तस्वीर बुधबार सामाजिक सञ्जालमा सेअर गर्दै उनले लेखेका छन्, ‘नयाँ वर्ष, नयाँ कामको सुरूवात ।’
सिनेमामा सरोजको एकल लगानी रहनेछ । निर्माता न्यौपानेले आफ्नो सिनेमा ‘फनफनी घुमेर’का लागि दीपकराजसँग सहकार्य नभएको स्पष्ट पारेका छन् । नयाँ शीर्षकमा सिनेमा बन्ने उनको दाबी छ । उनले भने, ‘हामी दुवैलाई कन्सेप्ट एकदमै मनर्पयो । अहिले स्क्रिप्टमा काम भइरहेको छ । स्क्रिप्ट दीपकजीले नै लेखिरहनुभएको छ ।’
सिनेमामा दीपकराज स्वयं मुख्य भूमिकामा देखिनेछन् भने निर्मल शर्माको पनि अभिनय रहनेछ । बाँकी कलाकार र निर्देशक तय भइसकेका छैनन् । निर्माता न्यौपानेले एक निर्देशकसँग भने कुराकानी भइरहेको जानकारी दिए । आगामी वर्षको तिहारमा सिनेमा रिलिज हुने यो सिनेमाको छायांकन आगामी बैशाखबाट सुरु गर्ने तयारी छ ।
अनन्या फिल्मस्को व्यानरमा यो सिनेमा निर्माण हुनेछ । दीपकको यो सिनेमामा मुनाफाको हिस्सेदारी रहने छ । यसअघि पनि उनको समूहले ५० प्रतिशत मुनाफा लिने गरी ‘छ माया छपक्कै’मा काम गरेको थियो । सरोजको यो सिनेमामा नाम चलेका कलाकारहरू सुची लामो रहने जानकारी दिइएको छ ।


प्रतिक्रिया