द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार पौष २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।
‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । सिनेमाको राम्रो ट्रेलर आएको भन्दै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ । दयाहाङ र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।
ट्रेलरले पाएको यो माया सिनेमाले पनि पाउने अपेक्षा निर्माण टिमको छ । ‘यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ,’ निर्देशक यम शेर्पाले भने, ‘दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ ।’
सिनेमा ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।
अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ । सिनेमा ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।
सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको भनाइ छ । सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतीमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् ।


प्रतिक्रिया