द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले सिनेमा गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा सिनेमाले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ ।
आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई नविन भट्टले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार मनोज अधिकारीले ‘फिरफिरे फिरिरी’ फरक कथा वस्तुमा र नयाँ शैलीमा निर्माण गरिएको बताए ।
सिनेमामा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले सिनेमाको स्क्रिप्ट मिलेर लेखेका हुन् । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको सिनेमाले दर्शकलाई नयाँ स्वाद दिने छनक देखाएको छ ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता मनोजकुमार अधिकारी हुन् । सिनेमामा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ । सिनेमाको डिजिटल अधिकार म्युजिक नेपालले खरिद गरेको छ ।


प्रतिक्रिया