धिरज र मिरुना ‘कुस्ती’मा आइआइएफटीको पहिरन देखिने

धिरज र मिरुना ‘कुस्ती’मा आइआइएफटीको पहिरन देखिने

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता बुद्धी तामाङले निर्माण गर्ने सिनेमा ‘कुस्ती’को भेषभूषा पार्टनरमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । मंगलबार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर र सिनेमाको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

छायांकनको तयारीमा रहेको सिनेमा ‘कुस्ती’मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए । उनले भने, ‘हामीले आइआइएफटीमा अध्यनरत विद्यार्थीलाई फेसनको माध्यमले सिनेमासँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मुर्तरुप दिनेमा विश्वस्त छौँ ।’

कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले आफ्नो पहिरन बारेमा विमर्श गर्दै केही पोशाक ट्रायल पनि गरेका छन् । आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्य नयाँ सुरुआत भएको बताइन । उनले भनिन्, ‘हामीले फेसन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर, अब आइआइएफटीको नवीनतम सोचलाई दर्शकले सिनेमाको पर्दामा हेर्न पाउनु हुनेछ । यसले सिनेमामा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेशनमा बदलाव ल्याउने छ ।’

यही अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने सिनेमाको सार्वजनिक पोस्टरले नै चर्चा पाएको थियो । कलाकारको स्वभावलाई रङ्ग अनुसार प्रस्तुत गरिएका कारण यो नयाँ र सिनेमाको थिम अनुसार देखिएको थियो ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने सिनेमा ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको सिनेमा ‘कुस्ती’ आगामी फागुन पहिलो सातादेखि फ्लोरमा जाने तयारीमा छ ।

काठमाडौंमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने सिनेमा आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।