शुभमुहूर्त गर्दै छायांकनमा प्रकाश र परिक्षाको ‘सोल्टिनी’

शुभमुहूर्त गर्दै छायांकनमा प्रकाश र परिक्षाको ‘सोल्टिनी’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘सोल्टिनी’को छायांकन सुरु गरिएको छ । मंगलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभमुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायांकन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए ।

अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै सिनेमाको लागि पहिलो र महत्त्वपूर्ण शट दिएका थिए । इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायांकन हुनेछ ।

सिनेमामा चर्चित कलाकारहरूको बाक्लो उपस्थिति छ, जसमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने सिनेमाको घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।

सिनेमाले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ । सिनेमामा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने सिनेमा सुशन प्रजापतिले गर्नेछन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको सिनेमाका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रालिले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

सिनेमात्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।