द सिनेमा टाइम्स, काठमाडौं । नवीन चौहानको डेव्यु निर्देशकिय सिनेमा ‘ऊनको स्वीटर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेशनल फिल्मस्ले किनको हो । उनीहरुले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियामा समेत यो सिनेमा रिलिज गर्ने भएका हुन् ।
दक्षिण कोरियामा पाँचथर सेवा समाज, क्यानडा एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले सिनेमा युकेबाहेकका युरोपियन देशहरूमा मामा इभेन्टस् तथा गुरुङ केएनएस इन्टरटेनमेन्ट र जापानमा सेवा एलएल कम्पनीले ‘ऊनको स्वीटर’ प्रदर्शन गर्ने निर्देशक नवीन चौहानले जानकारी दिए । यि सबै देशहरूमा नेपालको मितिमा नै एकसाथ रिलिज हुने निर्देशक चौहानले बताए ।
यो सिनेमाको १२ दिन अघि रिलिज भएको गीत ‘मखमली’ले रिलिजको १० दिनसम्म लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको थियो । हाल यो गीतलाई करिब ३८ लाख भ्यूजसहित ट्रेन्डिङको दोस्रो स्थानमा छ । नेपालमा मात्र नभई यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेको माल्टा, कतार, अस्ट्रेलिया, युएई, कुवेत लगायतका देशहरूमा पनि ट्रेन्डिङमा पुगेको थियो ।
वर्ष २०८२ सालको वैशाख २६ गते रिलिज हुने सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माणमा भएको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ हो । सिनेमामा निर्देशक चौहानको लेखन तथा सुरज कटुवालको सह-लेखन रहेको छ । सिनेमालाई नेपालमा काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले रिलिज गर्नेछन् ।


प्रतिक्रिया