द सिनेमा टाइम्स, काठमाडौं । पौष २६ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’को अग्रिम बुकिङ खुल्ला गरिएको छ । देशभरका मल्टीप्लेक्स चेनदेखि सिगल स्क्रिनसम्मले सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरेका हुन् । स्टारकास्टका कारण पनि यो सिनेमा चर्चामा छ ।
यो सिनेमाबाट करिब ६ महिनापछि अभिनेता दयाहाङ राई ठुलो पर्दामा देखिँदै छन् । जसले गर्दा पनि दर्शकमाझ सिनेमाको प्रतिक्षा रहेको बुझ्न सकिन्छ । त्यसैल पनि मंसिरपछि चिसिएको नेपाली सिनेमाको बक्सअफिस तातीने अपेक्षा हल सञ्चालक र सिनेमाकर्मीको छ । दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु लगायतका कलाकारको अभिनय रहेको सिनेमाको हाइप राम्रो भएकाले व्यापार त्यही अनुरुप हुने अपेक्षा गरिएको छ ।
देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यका र मोफसलमा ४७ शो उपलब्ध गराएको छ । त्यस्तै, आइएनआइले तीनवटा आउटलेटमा १५, एफक्युबले ७, कीर्तिपुर सिनेप्लेक्सले २, विएसआर मुभिजले ६, इन्फिनिटी मुभिजले ५ सोज दिएका छन् । काठमाडौंका बिग मूभिज, रञ्जना, सिके, वान सिनेमाज र सिने डी सेफ लगायतका केही हलहरुले सिनेमाको बुकिङ खुल्न बाँकी छ ।
सिनेमालाई देशभरका हलले राम्रो शो उपलब्ध गराएको हुँदा ती शोमा दर्शक अकुपेन्सी उच्च राख्न पर्ने चुनौती निर्माण टिममाथी छ । सिनेमाको ओपनिङ अकुपेन्सी राम्रो रहेको खण्डमा शनिबारबाट शोमा पनि वृद्धि हुनेछ । सिनेमाका प्रचार सामाग्री टिजर, ट्रेलर र गीतलाई युट्युबमा मिलेको भ्यूज र प्रतिक्रिया हेर्दा ‘कार्साङ’ हेर्न दर्शक उत्साहित रहेको देखिन्छ ।
सिनेमामा यम शेर्पाको लेखन तथा निर्देशन छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको सिनेमामा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, सुरवीर पण्डितलगायतको पनि अभिनय छ । सिनेमाको निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा गोविन्द बोहरा छन् । आङछिरिङ शेर्पा कार्यकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


प्रतिक्रिया