द सिनेमा टाइम्स, काठमाडौं । भोली पौष २६ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कार्साङ’ले बुधबार आयोजित प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया पाएको छ । प्रिमियर शोमा ‘कार्साङ’ हेरेका सिनेमाकर्मीबाट हेर्नैपर्ने मौलिक सिनेमा रहेको प्रतिक्रिया पाएको हो ।
शेर्पा समुदायको कथा भन्ने सिनेमाले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताए । शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो सिनेमा हेर्नैपर्ने प्रिमियरपछि उपस्थित पाहुनाबाट प्रतिक्रिया मिलेको थियो ।
प्रिमियर शोमा हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे (माग्ने बुढा), हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत पुगेका थिए ।
अभावमा बाँचिरहेको व्यक्ति आफ्नै गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छ भन्ने यो सिनेमाले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियर शोमा मिलेको छ । विषयवस्तु र अभिनय दुवैको तारिफ पाएकाले दर्शकले सिनेमा मन पराउनेमा निर्माणपक्ष ढुक्क छ ।
बुधबार सिटी सेन्टरस्थित बिग मूभिजमा आयोजना गरिएको प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो । शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको सिनेमा हलको वेटिङ कक्षले भिन्न माहोल तयार पारेको थियो ।
सिनेमालाई यम शेर्पाले निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।




प्रतिक्रिया