बैशाख १२ मा हरिवंश र दयाहाङको ‘भूठान’ रिलिज घोषणा

बैशाख १२ मा हरिवंश र दयाहाङको ‘भूठान’ रिलिज घोषणा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको निर्देशित दोस्रो सिनेमा ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी म्याड मङ्की फिल्मस्ले आगामी वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

यो सिनेमाको अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको हो । यसको अर्थ संसारकै सबैभन्दा खुसी व्यक्ति भन्ने हुन्छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्यलाई केन्द्रमा राखिएको छ । निराश भावमा देखिएका उनको कपाल र दाह्री सेतै फुलेको छ ।

हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईलाई पनि पोस्टरमा देख्न सकिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा चित्रित छन् । पोस्टरमार्फत् पात्रको लुक्स र मनोदशा दर्शाउन खोजिएको छ । निर्देशक पौडेल स्वयंको लेखन रहेको सिनेमामा अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको अभिनय छ ।

हलिउडका केही प्राविधिकहरुको पनि संलग्नता रहेको सिनेमाको निर्मातामा विनोद पौडेल, अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सशांक मैनाली र किर्तना बाँस्कोटा रहेका छन् । निर्देशक पौडेलले विश्वभरका दर्शकका लागि सिनेमा बनाएको र जोकोहीले हेर्दा पनि कथाको भाव र गहिराइ महसुस हुने विश्वास व्यक्त गरेका छन् ।

निर्मातामध्येका एक अविरल थापा सिनेमामा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुलै नयाँ अवतार र अद्भूत अभिनय देख्न पाइने दाबी गर्छन् । ‘भूठान’ आचार्यको जीवनकै कालजयी सिनेमा बन्ने उनको विश्वास छ । सिनेमा भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको छ ।

सिनेमामा सुसन प्रजापतिको डीओपी, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टिङ्ग, विमल सुवेदीको प्रोडक्सन डिजाइन तथा बलिउडका अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।