चिनियाँ कलाकार, निर्देशक र निर्माताको सहभागितामा काठमाडौंमा मनाइयो ‘चाइना सिनेमा दिवस’

चिनियाँ कलाकार, निर्देशक र निर्माताको सहभागितामा काठमाडौंमा मनाइयो ‘चाइना सिनेमा दिवस’

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल सिनेमा एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा एक दिवसीय ‘चीन सिनेमा दिवस’को आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन प्रमुख अतिथी रहेको समारोहमा बरिष्ठ कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली सिनेमा र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरुको साथमा चिनियाँ सिनेमामेकर र कलाकारको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्षमान पुनले नेपालमा पहिलो पटक आयोजित चीन सिनेमा दिवसमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए । ‘यो सांंस्कृतिक संबन्धको उत्सव हो । यसले दुई देशका सिनेमा मार्फत हाम्रो संबन्धलाई अझ प्रगाढ बनाउन मद्धत मिल्ने छ,’ उनले भने ।

आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल सिनेमा हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्ध लागि एउटा सुरुवाती प्रवेशद्धार भएको बताए । चाइना सिनेमा एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए ।

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका बर्षहरुमा चीन विश्वका सिनेमाहरुका लागि विश्वको ठुलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ सिनेमाको छायाँकन भएको स्मरण गरेका थिए ।

सिनेमा दिवसमा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना सिनेमा एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित चर्चित सिनेमा ‘जी फर ग्याप’की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड विजेता यु हङ, चाइना सिनेमा एडमिनिस्ट्रेसनका बजार विभागका उप-निर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ सिनेमा ‘पर्सनल पर्सिसटेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, सिनेमा ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायतको टोली कार्यक्रममा सरिक भएको थियो ।

क्यूएफएक्स सिनेमाको छाया सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्महरु, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको छ । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन ।

कार्यक्रममा सिनेमा प्रदर्शनपछि तीन वटै सिनेमाका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गरेका थिए । अन्त्रक्रियाका क्रममा उनीहरुले ‘चाइना सिनेमा डे’ जस्ता पहलहरूले नेपाल र चीनबीचको सांस्कृतिक खाडललाई कम गर्न र आपसी समझदारीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्ताे कार्यक्रमले दुई देश बीचमा सांस्कृतिक आदान प्रदानमा बढ्ने हुँदा भविष्यमा थप यस्ता कार्यक्रम हुने बताउँदै आयाेजक संस्थाका महासचिव पुरू लम्सालले कला र सिनेमामार्फत गरिने प्रयासहरूले दुवै देशका कलाकार, प्राविधिक एवं दर्शकहरुमा उत्साह भरिने बताए ।