दीपक रौनियार निर्देशित ‘सेतो सुर्य’ युट्युबमा रिलिज

दीपक रौनियार निर्देशित ‘सेतो सुर्य’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको दोस्रो फिचर सिनेमा ‘सेतो सुर्य’ युट्युबमा रिलिज गरिएको छ । सिनेमाको निर्माण टिमले शुक्रबार बाँसुरी फिल्मस्को युट्युब च्यानलबाट यो सिनेमा रिलिज गरिएको हो ।

दर्शकबाट अत्याधिक डिमाण्ड भएपछि आफुहरु यो सिनेमा निशुल्क युट्युबमा देखाउन तयार भएको निर्देशक रौनियारले बताएका छन् । आज भन्दा ९ वर्ष अगाडी २०७३ साल भदौ २१ गते यो सिनेमा नेपालभरका सिनेमा घरमा रिलिज भएको थियो । दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमा नेपाली बक्सअफिसमा असफल भएको थियो ।

यो सिनेमाले भेनिस अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, सिंगापुर अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, टोरोन्टो अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, बुसान सिनेमा महोत्सव, सिनेमा फोरम द साउथ, नर्वे तथा मामी मुम्बई सिनेमा महोत्सवमा पनि सहभागिता जनाएको थियो ।

सिनेमाको कथा माओवादी जनयुद्धताका नेपालको एक दुर्गम पहाडी गाउँमा अस्वाभाविक मृत्यु भएका आफ्ना बाबुको अन्तिम संस्कारका लागि सामाजिक तथा राजनैतिक बाधा उत्पन्न भएपछि एक युवकले भोगेको समस्या तथा समाजसँग उसको विद्रोहमा आधारित छ ।

सिनेमामा दयाहाङ राई, आशा मगराती, रविन्द्र सिंह बानियाँ, सुमी मल्ल, अमृत परियार, स्व। दीपक क्षेत्री, माओत्से गुरुङ, प्रमोद अग्रहरी, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक दीपक रौनियार निर्देशित नयाँ सिनेमा ‘राजागंग: पुज, सर’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी चैत्र १ गतेबाट देशव्यापी रिलिज हुँदैछ ।