बैशाख १२ मा रहस्य र थ्रिलरले भरिपूर्ण सिनेमा ‘खेल’ रिलिज घोषणा

बैशाख १२ मा रहस्य र थ्रिलरले भरिपूर्ण सिनेमा ‘खेल’ रिलिज घोषणा

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्ख भूमिका रहेको सिनेमा ‘खेल’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार सिनेमाको फर्स्टलुक सार्वजनिक गर्दै यो सिनेमा २०८२ सालको वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको हो ।

सिनेमामा सुरक्षासँगै अभिनेत्रीहरु हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको मुख्य भूमिा रहेको छ । यो सिनेमालाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रुपमा निर्देशन गरेका हुन् । अनुरागले दर्जनबढि बलिउड सिनेमामा सहनिर्देशकको रुपमा काम गरिसकेका छन् । उनीहरु दुवै जनाले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

सिनेमामा भोला राज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ । सिनेमाको पोस्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ । अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छिन्, जसले उनको चरित्रको महत्त्वलाई संकेत गर्दछ ।

नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्सले भरिपूर्ण सिनेमाले चार जना साथीहरूको कथा भन्ने छ । जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । सिनेमामा कुनैपनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने देखाउन खोजिएको छ ।

सिरुपाते कट्स प्रालिले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन तथा सह-निर्मातामा कुनालराज गुरुङ र रहिशराज महर्जन छन् । सिनेमा कार्यकारी निर्माता लुइसराज महर्जनले विश्वका ठुला सिनेमा उद्योगसँग प्रतिस्पर्धामा गर्न सक्ने प्रविधिमा ‘खेल’ निर्माण गरिएको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायांकन सामग्री भारतबाट ल्याइएको जानकारी दिए ।

सिनेमामा आशिषराज महर्जनको कथा, अभितेन्द्र र अनुराग प्रधानको पटकथा तथा विष्णु गैरेले संवाद लेखन रहेको छ । रोशन राई र सञ्जय लामाको छायांकन, आशिषराज महर्जनको सम्पादन, विकल प्रधानको साउण्ड डिजाइन, राजेन्द्र मोक्तानको रंग संयोजन, किशोर नेपालको प्रोडक्सन डिजाइन र प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । सिनेमाको वितरण डिसिएनले गर्नेछ ।