द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरेका थिए । सिनेमाको पहिलो गीत ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको छ ।
हाल यो गीत युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको छैंटो नम्बरमा छ । सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शिर्ष स्थान तर्फ आफ्नो पाइला बढाइरहेको छ । गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ ।
सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । उनले स्वर दिएका एकपछि अर्को गीत युट्युब ट्रेन्डिङसँगै चर्चाको शिखरमा रहने गरेको भन्दै दर्शक तथा श्रोताले तारिफ गरिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । वसन्तको यो गीतले दर्शकमाझ सिनेमाको हाइप बढाउन सफल रहेको गीतमा मिलेका प्रतिक्रियाबाट समेत बुझ्न गाह्रो पर्दैन् ।
सिनेमाको पहिलो गीत सार्वजनिक भएसँगै भिडियोमा देखिएका सवै कलाकारसहित विशेषगरी मुख्य भूमिकामा अभिनय गरेका गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी निकै सुहाएको भन्दै तारिफ भैरहेको छ।
सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।


प्रतिक्रिया