द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाभोज’को शुभमुहूर्त गरिएको छ । कलाकारको जम्बो टोलीको अभिनय रहने सिनेमाको मंगलबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजा गरिएको हो ।
शुभमुहूर्तमा सिनेमाका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति रहेको थियो । पोखरा आसपासमा करिब ४५ दिन छायांकन हुने सिनेमाको टिम बुधवार त्यसतर्फ जाने बताइएको छ ।
दिनेशले आठौं सिनेमाको रूपमा ‘महाभोज’ निर्देशन गर्न लागेका हुन् । ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको निर्देशक राउतले बताए । ‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले सिनेमामार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु,’ राउतले भने ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता हिमाल कडरिया हुन् । कार्यकारी निर्मातामा किरण नेपाली र सुदिप ढकाल छन् । विकास सुवेदीले लेखेको सिनेमामा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको ध्वनि डिजाइन, दिनेश बहादुर रावतको मुख्य सहायक निर्देशन रहने छ ।
रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, मनोज जोशी निर्माण नियन्त्रक, साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप, आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले सिनेमाको वितरण गर्नेछन् ।


प्रतिक्रिया