द सिनेमा टाइम्स, काठमाडौं । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाराजधिराज’को पोस्टर रिलिज गर्दै मुख्य अभिनेता चिनाइएको छ । अर्को वर्षको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो ।
एआईको सहयोगमा तयार पारिएको पोस्टरमा पललाई दुई अलग चरित्रमा देख्न सकिन्छ । एउटामा उनी न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । उनी शारीरिक रुपले कमजोर देखिन्छन् । अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएको छ । दुवैमा उनी गम्भीर भावमा चित्रित छन् ।
सार्वजनिक पोस्टरमा स्लोगन लेखिएको छ, ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा ।’ यसले अरुमा भन्दा व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ । राजा होस् वा नागरिक, समस्या हरेक व्यक्तिमा छ भन्ने स्लोगन र पोस्टरले प्रष्ट पार्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमा सिनेमाप्रति उत्सुकता जगाउने देखिन्छ ।
सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।



प्रतिक्रिया