बाल विवाह तथा महिला हिंसाविरुद्धको कथा ‘जुना’को टिजर सार्वजनिक

बाल विवाह तथा महिला हिंसाविरुद्धको कथा ‘जुना’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमा ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । मंगलबार माघे संक्रान्तिको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको सिनेमालाई जीवन सेञ्चुरीको निर्देशन गरेका हुन् । आगामी माघ २५ गते रिलिज हुने सिनेमाको सार्वजनिक टिजरमा सिनेमाकी मुख्य पात्र जुनाको पीडालाई देखाइएको छ । अनमेल विवाहले एउटी नारीको जीवनमा कस्तोसम्म असर पर्छ भन्ने कुरा जुनामार्फत टिजरमा प्रस्तुत गरिएको छ ।

सिनेमाको टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई स्थान दिइएको छ । अस्मिता बस्नेत र खगेन्द्र न्यौपाने लगायतको अभिनय रहेको सिनेमा मार्फत निर्देशक सेञ्चुरीले बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं भन्ने नारासहित निर्माण गरिएको बताउँछन् ।

‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको सिनेमा रहेकाले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीको दाबी छ । सिनेमाले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा दीपकप्रसाद घिमिरेको लगानी छ । सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।