द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री वर्षा राउत र ‘साँघुरो’ निर्देशक जोयस पाण्डेको मुख्य भूमिका रहेको सिनेमा ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका सिनेमा छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा खिचिएको सिनेमा पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको खिचेसँगै सम्पादन चरणमा प्रवेश गरेको हो ।
जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार सिनेमालाई विमल सुवेदीले निर्देशन गरेका हुन् । नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको सिनेमामा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक-फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ ।
एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् सिनेमाले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनु अघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविरबाट अमेरिका आइसकेपछि परिवारका सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई सिनेमाको कथ्यमा समेटिएको निर्माता समुन्द्र राज घिमिरेले बताए ।
भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपश्चात् नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् ।
‘हिउँको गीत’ १२ वर्षअघि विजारोपण भएको थियो । सुवेदीले पछि यसलाई नाटकको रुपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले अत्यन्त प्रसिद्ध ३ वटा मेटा अवार्ड पनि जितेका थिए । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए ।
वर्षा र जोयशसँगै पूजा चन्द, आकाश खतिवडा, इश्वर कर्मचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम लगायतको अभिनय रहेको छ ।सिनेमामा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका सिनेमाकर्मीले काम गरेका छन् । सिनेमालाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् ।
आयुषा सञ्जेल सहायक निर्देशक रहेको सिनेमामा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्वसमूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ । कौशिला खनाल कर्मचार्य, आरबी खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।


प्रतिक्रिया