द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’को औपचारिक निर्माण घोषणा गरेका छन् । पछिल्लो सिनेमा ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका थिए । मंगलबार निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर सिनेमाको शिर्षक घोषणा गरेका हुन् ।
माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको सिनेमाको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका सुनिल थापाले तयार गरेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।
पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा बन्ने जनाइएको छ । विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री र पञ्चमी घिमिरेको अभिनय रहने छ । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।
सिनेमामा लेखन तथा निर्देशन तुलसी घिमिरेको रहनेछ । ओजश्वी केसी निर्माता रहेको सिनेमामा प्रमोद प्रधानको डिओपी, रञ्जित गजमेरको संगीत निर्देशन, भारती घिमिरे क्रिएटिभ निर्देशकको रुपमा रहने छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता रहेको सिनेमा नेपालमा व्यंकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन् ।


प्रतिक्रिया