माया, तिमी यसलाई एक घटना सम्झ ।
विन्ती यसलाई दुर्घटना नसम्झ ।
संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।
माथि उल्लेखित कविताको हरफ दीपेन्द्र लामा निर्देशित आगामी फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुखी आत्मा’मा समावेश गरिएको छ । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो सिनेमामा समावेश छन् । जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको हो । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ ।
सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसले, सिनेमामा दयाहाङ कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सिनेमामा दीपेन्द्र लामाको लेखन छ । सिनेमामा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।
सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी छ । यो सिनेमालाई निर्माणपक्षले एडल्ट ड्रामा भनेको छ । सिनेमाको टिजर रिलिज भएपछि दर्शकमाझ सिनेमाको चर्चा बढेको छ ।


प्रतिक्रिया