द सिनेमा टाइम्स, काठमाडौं । भुटानबाट सन् १९९० को दशकमा विस्थापित हुन बाध्य भुटानी शरणार्थीको कथामा सिनेमा ‘ल्हो-छाम्पा’ निर्माण हुने भएको छ । भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई सिनेमाले प्रस्तत गर्नेछ । भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द ‘ल्हो-छाम्पा’ हो ।
नक्षत्र लाइभ म्युजिकको ब्यानरमा निर्माण हुने सिनेमालाई अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विधामा योगदान गरिरहेका छन् । निर्माता सुवेदीले आफूले भोगेको समयलाई आउँदो पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्यले सिनेमा निर्माण गर्न लागेको बताए ।
सिनेमालाई नरेशकुमार केसीले निर्देशन गर्नेछन् । उनको यो तेस्रो निर्देशकीय सिनेमा हुनेछ । नरेशले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ गरी दुई सिनेमा निर्देशन गरिसकेका छन् । उनले सिनेमाले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए ।
सिनेमामा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । सिनेमाका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ । निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी गराए । सिनेमाको छायांकन वैशाखको दोस्रो हप्तादेखि गर्ने योजना रहेको उनले जनाएका छन् ।


प्रतिक्रिया