द सिनेमा टाइम्स, काठमाडौं । ज्योतिराज राईको लगानीमा निर्माण हुन लागेको सिनेमा ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभमुर्हूत गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरिएको थियो ।
सिनेमाको शुभमुर्हूतमा स्थानिय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरु सम्झदै गरिएको हो । सिनेमाको मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष विक्रम वान्तवा लगायत स्थानिय कलाकर्मीको उपस्थिती थियो ।
शुभमुहूर्त कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिँदा त्यसको निर्देशन नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष विक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले हानेका थिए । मुर्हूतपछि बोल्दै निर्देशक नविन सुब्बाले राई जातीहरुको कथा, संस्कृति सिनेमामा कम आएको बताउँदै यसक्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता बिषयबस्तुमा जोड दिनुपर्ने बताए ।
निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरुको सम्मान र सम्झनासहित सुरु भएकोले इतिहास रच्ने सिनेमा बनोस् भन्दै शुभकामना दिए । ‘नाक्छोङ’का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार ब्यक्त गर्दै ‘नाक्छोङ’ विजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवस्यक बिजुवाको संरक्षणका लागि सिनेमा निर्माण गर्न लागेको बताए ।
सिनेमाको निर्देशन किरण राईले गर्दैछन् । किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए । सिनेमाको लेखन समेत किरणले गरेका हुन् । याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो, प्रकाश सुब्बा लगायतको अभिनय रहने फिल्ममा बाबु श्रेष्ठको छायांकन रहने छ ।
सिनेमाको छायांकन काठमाडौं, बिराटनगर, मोरङ लगायत पुर्वका विभिन्न स्थानमा हुनेछ । चलचित्र बिकास बोर्ड अन्र्तगतको आदीवासी, जनजाती, मातृभाषी प्रवद्र्धन समितिका संयोजक समेत रहेका राईले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे लगायत सिनेमा निर्माण गरेका थिए ।


प्रतिक्रिया