ऋषि लामिछानेको ‘माग्ने राजा’मा आर्यन सिग्देल अनुबन्धित

ऋषि लामिछानेको ‘माग्ने राजा’मा आर्यन सिग्देल अनुबन्धित

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ऋषि लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । सिनेमामा विषेश भूमिकाको लागि अभिनेता सिग्देलसँग केही दिन नै सम्झौता भएपनि आइतबार मात्रै यसको जानकारी दिइएको हो ।

यतिवेला दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘महाभोज’को छायांकनमा व्यस्त आर्यनले फागुनमा ‘माग्ने राजा’ छायांकन गर्नेछन् । फागुन पहिलो हप्ताबाट फ्लोरमा निस्कने यो सिनेमामा उनले केदार घिमिरे (माग्ने बुढा)सँग तेस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा ५’मा सहकार्य गरेका थिए ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको मुख्य भूमिकामा यसअघि नै केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, शिशिर वाङ्देल र टिकटकर मोडल पवित्रा साकी (मिस पबी) अनुबन्धित भैसकेका छन् । रंग पत्रकार तथा समीक्षक सामिप्यराज तिमिल्सेनाको लेखन रहेको सिनेमालाई मुनाल घिमिरेले निर्माण गर्न लागेका छन् । निर्माता घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्ष समेत हुन् ।

नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा दीपक शर्माको संगीत रहनेछ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमा सम्पुर्ण कास्ट एण्ड क्रिउको जानकारी चाँडै दिने तयारी निर्माण टिमको छ ।