द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने सिनेमा ‘दुःखी आत्मा’को प्रचारलाई आक्रामक बनाउन ‘जोक जात्रा’ कार्यक्रम गरिने भएको छ । केही चर्चित कमेडियनसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम देशका १० वटा सहरमा गरिने निर्माता हिमाल कडरियाले जानकारी दिए । उक्त कार्यक्रममा सिनेमाका कलाकारहरु पनि सहभागी हुनेछन् ।
‘जोक जात्राः स्ट्यान्ड अफ कमेडी टुर अगेन’ नाम दिइएको यो कार्यक्रम माघ ६ गते नेपालगञ्जबाट सुरु हुनेछ । त्यसपछि माघ ८ गते बुटवल, माघ १० गते नवलपुर, माघ ११ गते चितवन, माघ १३ गते पोखरा, माघ १६ गते हेटौडा, माघ १७ गते दमक, माघ १९ गते विर्तामोड र माघ २० गते इलाममा गरेर संघीय राजधानी काठमाडौंमा समापन हुनेछ ।
उक्त कमेडी टुरमा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतिक कुमार अधिकारीले प्रस्तुति दिनेछन् । उनीहरु सबैले ‘कमेडी च्याम्पियन’मा आफ्ना प्रस्तुति दिइसकेका छन् । सिनेमाबारे दर्शकको ठूलो वर्गसम्म जानकारी पुर्याउन ‘जोक जात्रा’ कार्यक्रम प्रभावकारी हुने निर्माता कडरियाको विश्वास छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, कविता आले लगायतको अभिनय छ । एडल्ट जनरामा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा सुदीप ढकाल छन् भने आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । दुई हप्ताअघि सार्वजनिक टिजर र कविताले दर्शकमाझ ‘दुःखी आत्मा’ले राम्रो हाइप बनाएको छ ।



प्रतिक्रिया