द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला देशभरका ठुलादेखि सानासम्म विभिन्न शहर तथा नगरमा मेला महोत्सवको आयोजना भैरहेका छन् । यी महोत्सवमा मार्फत छोटो समयमा धेरै दर्शकलाई आफ्नो प्रोडक्टको प्रचार गर्न सहज हुने गर्छ । जसले गर्दा विशेषगरी सिनेमाका निर्माता तथा कलाकारहरु त्यसप्रति आकर्षित हुने गरेका छन् ।
निर्माता तथा कलाकार छोटो समयमा धेरै दर्शकमाझ आफ्नो सिनेमाको प्रचार गर्न महोत्सवमा आकर्षण बढेको देखिन्छ । त्यसमा पनि प्रदर्शनको संघारमा रहेका सिनेमाका निर्माता र कलाकार विभिन्न महोत्सवमा पुगेर प्रचार गरिहरेका छन् ।
यसको अग्रपंक्तिमा अभिनेता पल शाह छन् । उनको माग देशभरका महोत्सवमा उच्च देखिन्छ । जसको फाइदा आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मायावी’लाई मिलिरहेको छ । पल देशका विभिन्न शहरमा आयोजित महोत्सवमा पुगेर दर्शकसँग सेल्फी खिच्दै सिनेमाको गीतमा नृत्य गर्नुका साथै त्यहाँ उपस्थित दर्शकलाई फागुन १४ गते हल गएर मायावी हेरिदिन आग्रह गरिरहेका छन् ।
आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘एक्टरः टेक वान’ निर्माण टिम मुख्य कलाकार प्रदीप खड्का अभिनेत्रीद्धय आना शर्मा र दिव्या रायमाझिलाई लिएर गत बिहीबार नेपालगञ्ज, बर्दियाको बाँसगढी र चितवनमा आयोजित महोत्सवमा पुगेर सिनेमा प्रचार गरेका छन् । आगामी दिनमा देशका अन्य ठाउँमा आयोजित महोत्सवमा पुगेर सिनेमाको प्रचारलाई तिब्रता दिन सोचमा एक्टरः टेक वान टिम छ ।
यता शनिबार मात्रै अभिनेता तथा निर्माता सलोन बस्नेतले पनि शनिबार बर्दियाको बाँसगढीमा आयोजित महोत्सवमा पुगेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रंगी’को प्रचार गरेका छन् । उनी आफ्नो सिनेमा ‘रंगी’का गीतकार तथा संगीकार दुर्गेश थापासँग उक्त महोत्सवमा पुगेका थिए । हजारौं दर्शकमाझ सिनेमाको प्रचार गर्न पाउँदा अभिनेता तथा निर्माता सलोन पनि दंग देखिन्थे ।


प्रतिक्रिया