द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘द्रौपदी’को टिजर रिलिज भएको छ । यो सिनेमाको डोल्पाको शे-फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको थियोे । हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा समेत छायांकन भएको हो ।
सोमबार सार्वजनिक १ मिनेट ३७ सेकेण्ड लामो टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला समवेदनामा निर्माण भएको सिनेमाले एक अर्गानिक अनि गम्भीर विषय उठाएको संकेत टिजरले गरेको छ । कर्णालीको मर्मस्पर्शी कथा उठाएको सिनेमा ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको निर्देशक ऋषिराज आचार्य बताउँछन् । यसको स्कृप्ट करिब ४ बर्ष लगाएर लेखिएको दाबी निर्माण टिमको छ ।
सिनेमामा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक ऋषिराज आचार्यको पनि अभिनय रहेको छ । सिनेमामा कथा, पटकथा तथा संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ ।
सिनेमाको गीतमा रबि ओड र इन्द्रकला राइको आवाज रहेको छ भने ऋतु आचार्य र सुबास ठडराई सह-निर्माता हुन् । आरबि मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । मोहन कुमार झिल्कुले खिचेको सिनेमामा अनिल कुमार महर्जनले सम्पादन तथा रंग सयोजन रहेको छ ।


प्रतिक्रिया