माघ १७ गतेदेखि ‘नेपाल कल्चरल इन्टरनेशनल सिनेमा महोत्सव’ आयोजना हुने

माघ १७ गतेदेखि ‘नेपाल कल्चरल इन्टरनेशनल सिनेमा महोत्सव’ आयोजना हुने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । छैटौं संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल सिनेमा महोत्सव’ आगामी माघ १७ गतेदेखि माघ १९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो पटक ६० मुलुकका चार सय बढी सिनेमाको आवेदन परेको र यसमध्येबाट नेपालसहित ४७ मुलुकका ९८ वटा सिनेमा महोत्सवमा देखाइने मंगलबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिइयो ।

महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले चार सय सिनेमालाई प्रारम्भिक चयन समूहले डेढ महिना लगाएर हेरेपछि ९८ वटा सिनेमा छनोट गरेको जानकारी दिए । उनका अनुसार महोत्सवमा कथानक सिनेमा, लघु सिनेमा, वृत्तचित्र, एनिमेटेड सिनेमा, महिला, बालबालिका, मानव अधिकारका सिनेमाहरू प्रतिस्पर्धामा छन् ।

महोत्सवको लागि अन्तर्राष्ट्रिय जुरीमा भारतबाट निपोन धौला, जर्मनीबाट फाविन मात्थियस र इभिन बिराजी, बेलायतबाट लुईसा प्रिटोलानी, क्यानडाबाट जुडी ग्लाड्स्टोन, इरिना बेराजी छन् । नेपालबाट निर्णायकमा शम्भुजीत बास्कोटा, मिथिला शर्मा, दीपेन्द्र के खनाल, प्रदीप खड्का, टीकाराम यात्री सुरक्षा पन्त, रौनक विक्रम कँडेल र दिनेश लिङदेन छन् ।

महोत्सवमा सिनेमा प्रदर्शनसँगै विभिन्न विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशाला र कला प्रदर्शनी समेत गरिनेछ । काठमाडौंको दरबारमार्गस्थित राईजिङ मलको क्यूएफएक्स हल र चलचित्र विकास बोर्डमा हुन लागेको महोत्सवमा सर्वोत्कृष्ट भएका सिनेमा, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान पनि गरिनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ३० सिनेमा पुरस्कृत हुने आयोजक टिमले जानकारी दिएको छ ।