द सिनेमा टाइम्स, काठमाडौं । कास्कीको घाचोकबाट दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाभोज’को छायांकन सुरु गरिएको छ । मंगलवारदेखि ४५ दिनको सुटिङ तालिकासहित सुरु भएको सिनेमाको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका हुन् ।
गत साता काठमाडौंमा क्यामेरा तथा सिनेमाको स्क्रिप्ट पूजा गरिएको थियो । हिमाल कडरियाले निर्माण गरिरहेको सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।
सिनेमामा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरूका विरुद्धको विद्रोही कथा हेर्न पाइनेछ । निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचारको कथामा ‘महाभोज’ बनाइरहेको बताए । नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्ने तथा देशका प्रणालीविहीन कामका विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, त्यसपछि समाजले कस्तो रूप लिन्छ भन्ने सिनेमाले देखाउने छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । विकास सुवेदीले लेखेको सिनेमामा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको ध्वनि डिजाइन, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहनेछ । काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले सिनेमाको वितरण गर्नेछन् ।


प्रतिक्रिया