बाइस्कोप सिनेमाको ब्यानरमा गोल्छा समूहको ‘परान’ निर्माण घोषणा

बाइस्कोप सिनेमाको ब्यानरमा गोल्छा समूहको ‘परान’ निर्माण घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’को संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले सिनेमा ‘परान’को औपचारिक घोषणा गरेको हो । सिनेमालाई चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित ‘काकु’ पात्र निर्वाह गरेका दीपक आचार्यले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

सिनेमामा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् । शाहका अलावा सिनेमामा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ। सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ ।

सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला-जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकलाई दिने गरेको प्रसंग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धिका लागि रहेको बताए।

‘म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा विभिन्न महोत्सवहरूमा जाने गर्थें । त्यहाँ हाम्रो नेपाली मौलिकता डाइल्यूट हुने गरी कार्यक्रमहरू हुन्थे । मैले जहिले पनि आयोजकहरूलाई हाम्रो मौलिकता नै डाइल्यूट हुने गरी कार्यक्रम गर्ने हो भने मलाई चाहिँ नबोलाइदिनुहोस् । म आउँदिनँ, किनभने प्रमुख अतिथिका रूपमा मलाई बोलाइन्थ्यो,’ शेखरले भने, ‘हाम्रो मुभीमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन । यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ तर कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् । सिनेमा क्षेत्रमा आबद्ध सबै कलाकार अनुबन्धमा होऊन्, समयमा भुक्तानी पाऊन् र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस् भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छ ।’

रञ्जित आचार्यले सन् २०१८ मै सिनेमा बनाउने योजनासहित कम्पनी खडा गरेपनि तयारीका दौरान कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको सिनेमा बनाउने बताए । ‘हामीले सिनेमा निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ । अब निरन्तर नेपालीपन बोकेको सिनेमा बनाउने छौँ,’ निर्देशक आचार्यले भने ।

सिनेमा घोषणा कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लको साथमा सौरभ ज्योति, गोल्डस्टार जुत्ताका उत्पादक, किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा लगायत व्यवसायीहरूको उपस्थिति थियो ।

बाइस्कोप सिनेमा प्रस्तुति भन्दै बन्न लागेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन गर्नेछन् भने यम थापाको पटकथा तथा संवाद लेखन, मित्र देव गुरुङको सम्पादन तथा सुप्रिम पराजुलीको रंग संयोजन रहनेछ । फाल्गुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायांकन काठमाडौं तथा धनकुटामा हुनेछ ।