द सिनेमा टाइम्स, काठमाडौं । जीवन सेञ्चुरीको डेव्यु निर्देशकिय सिनेमा ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको सिनेमाको गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत छ ।
माघ २५ गतेबाट रिलिज हुने सिनेमाको सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ ।
गीत भिडियोमा सिनेमाकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतका कलाकारलाई पनि समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ । गीतमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले सिनेमा निर्माण गरिएको बताए । यता निर्देशक सेञ्चुरी पनि ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको सिनेमा रहेको बताउँछन् ।
सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईको डिओपी छ ।


प्रतिक्रिया