शुक्रबारबाट प्रदर्शनमा आयो नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’

शुक्रबारबाट प्रदर्शनमा आयो नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माघ ११ गते आज शुक्रबारबाट सिनेमा ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको निर्देशनमा निर्माण भएको सिनेमा मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्ममा उच्च शोसहित प्रदर्शनमा आएको हो । नाजिर हुसेन र सृष्टि श्रेष्ठ चलेका कलाकार भएकाले यो सिनेमाले मंसिर यता चिसिएको नेपाली सिनेमाको बजारलाई तताउने अपेक्षा छ ।

सोलो रिलिज भएको ‘केटी हराएको सूचना’लाई केही शोमा बुकिङ पनि राम्रो देखिन्छ । वितरक मध्यका एक करण श्रेष्ठले शुक्रबार बिहानी शोबाट नै यो सिनेमाले हाउसफुल दर्शकको साथ पाएको भन्दै तस्वीर सार्वजनिक गरेका छन् । दर्शकबाट वर्ड अफ माउथ राम्रो पाएको अवस्थामा दिउँसोबाट सिनेमाले राम्रो सुरुवात गर्ने दाबी वितरक श्रेष्ठको छ ।

मधेशी युवक र पहाडी युवतीबीच भेट पश्चात आउने उतार-चढावको कथा सिनेमाले देखाएको छ । सिनेमाको करिब ९० प्रतिशत दृश्यमा नाजिर र सृष्टिलाई देख्न सकिन्छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा तराईको जीवनशैली र मिथिला संस्कृतिलाई पनि देखाइएको छ ।

ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र गौचनको लेखन तथा निर्माण रहेको छ । सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल लगायतको अभिनय छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल पार्टनर रहेको सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।