द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माता रहने सिनेमा ‘माया प्रीति’को निर्माण घोषणा गरिएको छ । रोमान्टिक कमेडी जनरामा आधारित सिनेमालाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।
वन टू थ्री स्टुडियोज् ब्यानरमा निर्माण हुने सिनेमाको कार्यकारी निर्मातामा निशासँगै सन्तोष कुमार कार्की छन् । सिनेमाको क्रिएटिभ निर्देशकमा ‘रेशम फिलिली’ फेम्ड निर्देशक प्रणव जोशी रहनेछन् । ‘माया प्रीति’को निर्माण टिमले यसअघि नेपाल टेलिभिजनको लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको थियो । यो सिनेमाको लागि शोका प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।
निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल््यलाई एकसमान राख्छ । ‘सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ’, श्रेष्ठले सिनेमाको कथासार बताए ।
निर्देशक श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । ‘माया प्रीति’ मार्फत सिनेमा निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य सिनेमा निर्माण गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया