‘एक्टरः टेक वान’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान्छ : राजन भुसाल

‘एक्टरः टेक वान’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान्छ : राजन भुसाल

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बुधबार अर्थात् माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक्टरः टेक वान’ले फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी निर्देशक राजन भुसालले गरेका छन् । यो सिनेमाबाट निर्देशनमा डेव्यु गरेका भुसालले प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राखेर ‘एक्टरः टेक वान’ निर्माण गरेको बताए ।

‘एक्टरः टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । निर्देशक भुसालका अनुसार, सिनेमालाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । निर्देशक भुसाल भन्छन्, सिनेमा भनेको कथा वाचन मात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ । यो सिनेमाले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ ।’

सिनेमाको एक महत्त्वपूर्ण भूमिकामा रहेका अभिनेता राजवल्लभ कोइरालाले करिब १० वर्षपछि नेपाली सिनेमामा पुनरागमन गर्दैछन् । यो सिनेमामा उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेर्छन् । केही समयदेखि नेपाली सिनेमा क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टरः टेक वान’मा अभिनय गर्नुलाई दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानिएको छ । ‘राजवल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो । तर, उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र सिनेमाको पर्खाइ गर्नुभएको थियो । यो सिनेमाले उहाँलाई त्यो अवसर दिएको छ’, भुसालले बताए ।

सिनेमाको ट्रेलरमा अभिनेता प्रदिप खड्काको संघर्ष र कलाकार बन्ने सपनाको चित्रणले दर्शकलाई आकर्षित गरेको छ । जसले सफलता प्राप्त गर्ने प्रक्रियामा अभिनेताले कठिनाइको सामना गर्नुपरेको देखाउँछ । यद्यपि, यो प्रस्तुतीकरणले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्न सक्ने प्रश्नलाई भुसालले खण्डन गरका छन् ।

‘यो सिनेमाले कलाकारितालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको हो । ड्रामा थ्रिलर श्रेणीमा निर्माण भएको यो सिनेमाले कलाकारको व्यक्तिगत वा पेशागत छवि बिगार्ने काम गर्नेछैन’, भुसालले प्रस्ट्याए । निर्देशक भुसालको विश्वासको आधारमा ‘एक्टरः टेक वान’ले प्राविधिक र कथात्मक रूपमा नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्ने अपेक्षा गर्न सकिन्छ ।

सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको मुख्ख भूमिका रहेको छ । सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।