द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यो पोस्टरले सिनेमाका पात्र र कथावस्तुको झलक देखाएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ ।
सिनेमाको पोस्टरको केन्द्रमा अभिनेत्री अन्जना बराइलीलाई पारम्परिक पोशाकमा मुस्कानसहित देखाइएको छ । जसले सिनेमाको सांस्कृतिक पृष्ठभूमिको संकेत गर्छ । अन्य पात्रहरूको विभिन्न भावभङ्गीमा देखिएको उपस्थिति कथावस्तुमा रहेको विविधतालाई दर्साउँछ । पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ-एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ ।
यसले सिनेमाको कथावस्तुमा हास्य, संघर्ष र गम्भीर भावनाहरूको मिश्रण रहेको संकेत दिन्छ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् । सिनेमाको लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । सिनेमामा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय रहेको छ ।
सिनेमाका निर्माता दिनेश भट्टराई तथा कार्यकारी निर्माता राज थापा हुन् । मनोज पण्डित स्कृप्ट डाक्टर रहेको सिनेमामा मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।



प्रतिक्रिया