‘जनै हराएको बाहुन’को मुख्य भूमिकामा विजय बराल अनुबन्धित

‘जनै हराएको बाहुन’को मुख्य भूमिकामा विजय बराल अनुबन्धित

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल सिनेमा ‘जनै हराएको बाहुन’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ८८ औं दिनको सेलिब्रेसन कार्यक्रम रहेको दिनमा नै विजय मुख्य अभिनेताको रुपमा यो सिनेमामा अनुबन्धित भएका हुन् ।

विजयले सिनेमाको कथावस्तु मन परेकाले यो सिनेमामा काम गर्न तयार भएको बताएका छन् । हिमाल न्यौपानको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमाका असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् । उनले अभिनयसँगै यही सिनेमाबाट पहिलो पटक निर्देशनमा कदम बढाउन लागेका छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । सिनेमाले गाउँबाट सहर आएको एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।

सिनेमाको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । सिनेमामा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

सिनेमाका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा छायांकन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।